काठमाडौं । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गर्दै अन्तिम १६ (प्रि–क्वाटरफाइनल) मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको जितमा फ्लोरियन बलुगन र मलिक टिलम्यानले एक–एक गोल गरे। खेलको ४४औँ मिनेटमा बलुगनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए। यसअघि ३१औँ मिनेटमा उनले गरेको अर्को गोल भने अफसाइडका कारण मान्यता पाएन।
दोस्रो हाफको ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल थप्दै अमेरिकाको जित सुनिश्चित गरे। यद्यपि, खेलको ६४औँ मिनेटमा बलुगनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित भएको थियो।
यसअघि ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले गरेको प्रहार पनि अफसाइडका कारण गोलका रूपमा गणना हुन सकेन।
यस जितसँगै अमेरिका अन्तिम १६ मा पुगेको छ। अब अमेरिकाले क्वार्टरफाइनल प्रवेशका लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो।





