काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
बानियाँलाई कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले विश्वासको मत दिएका छन् । विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस सांसद रामकृष्ण चित्रकार अनुपस्थित रहे । उनी हाल अमेरिका भ्रमणमा छन् ।
कांग्रेसभित्रको किचलोकै बीचमा पनि बानियाँले विश्वासको मत पाएका हुन् । दिउँसोसम्म कांग्रेसको बहादुरसिंह लामा पक्षका १३ सांसद हेटौंडा पुगेका थिएनन् ।
मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराए । सात सांसद तटस्थ बसे । १८ सांसद अनुपस्थित थिए ।
११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद मात्रै उपस्थित थिए । प्रदेश सभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका सबै सांसद अनुपस्थित भए ।
प्रदेश सभामा सत्ता साझेदार दलहरु कांग्रेसका ३७, एमालेका २७ सांसदसहित प्रतिपक्षी दलहरु माओवादीका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात र नेमकिपाका तीन सांसद छन् ।
बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत






