काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्दैछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र सपथ ग्रहण ४ बजेका लागि तय गरिएको छ ।
नयाँ सरकारमा एमालेबाट मन्त्री बन्नेहरूको टुंगो लागेको छ । एमालेले एकजनाबाहेक पाँचजना नयाँ अनुहारलाई मौका दिने भएको छ । एमालेले संसदीय दलको प्रमुख सचेतक मधुसुदन पौडेलको नेतृत्वमा सरकारमा सहभागिता जनाउँदै छ ।
दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर छन् । उनलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, मधुसुधन पौडेललाई कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनाउने एमालेको तयारी छ । एमालेबाट मन्त्री व्यक्ति टुंगिए पनि मन्त्रालय फेरबदल हुन सक्ने बताइएको छ ।
कांग्रेसले भने अहिलेसम्म कसैको नाम टुंगो लगाएको छैन । कांग्रेसमा केही मन्त्री पुरानै र केही नयाँ नियुक्त हुँदैछन् ।






