काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।

ADVERTISEMENT

उनले कार्गो व्यवस्थापन, भन्सार प्रणाली, ड्राइपोर्ट सञ्चालन तथा व्यापार सहजीकरणसँग सम्बन्धित विषय मुख्यतः संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि प्रदेश सरकारले गर्न सक्ने सहयोगमा कुनै कमी हुन नदिने बताए ।

मुख्यमन्त्री बाँनियाले व्यवसायीका समस्या र सुझाव प्रधानमन्त्रीसँग हुने समन्वय बैठक तथा अन्तरसरकारी छलफलमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै व्यापारिक वातावरण थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

ADVERTISEMENT

उनले वीरगञ्जलगायत प्रमुख भन्सार नाकामा रहेका ड्राइपोर्ट तथा अन्य पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आयातित सामानको सुरक्षित भण्डारण, छिटो ढुवानी र सहज वितरणका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिए। हवाई मार्गबाट हुने कार्गो व्यवस्थापनलाई पनि आधुनिक र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री बाँनियाले प्रविधिको प्रयोग विस्तार गरी कार्गो सेवा अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास र तालिम कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्ने पनि उनले उल्लेख गरे ।

उनले कर तिर्ने व्यवसायीले राज्यबाट गुणस्तरीय सेवा पाउनुपर्ने भन्दै तीनै तहका सरकारले सेवा प्रवाहलाई प्रभावकारी, सहज र व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखे । मुख्यमन्त्री बाँनियाले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले व्यापार सहजीकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाका भावी नीति तथा योजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

उनले सफलता हासिल गर्न निरन्तर अभ्यास, संघर्ष र धैर्यता आवश्यक पर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अघिल्लो पुस्ताको संघर्ष र अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताए । समाजमा मेहनत गरेर जीवनयापन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बाँनियाले उत्पादनशील र श्रमप्रति सम्मान गर्ने समाज निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।