मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका स्वर्गीय नेता सूर्यबहादुर डिमडुमको स्मृतिमा निर्मित स्मृति भवनको उद्घाटन गरेका छन्।

हेटौँडा उपमहानगरपालिका–२ मा अवस्थित नेपाली कांग्रेस मकवानपुर जिल्ला कार्यालय परिसरमा बनेको यो स्मृति भवनको आज औपचारिक उद्घाटन गरिएको हो। एक सभाहलसहित चार कोठा र शौचालय सुविधायुक्त यो भवन हेटौँडाका विभिन्न संघसंस्था तथा समाजसेवीहरूको रु. ४८ लाख ५५ हजार आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुकमा संसदीय प्रजातन्त्रको पुनःस्थापनामा कांग्रेस नेता डिमडुमको नेतृत्वमा गठित मोर्चाले पुर्‍याएको योगदान सदैव स्मरणीय रहेको बताए। उनले यो स्मृति भवनले स्वर्गीय डिमडुमको योगदानलाई चिरस्थायी बनाउने र सहयोग गर्ने सबैलाई धन्यवादको पात्र बनाउने उल्लेख गरे।

सोही अवसरमा मुख्यमन्त्री बानियाँले विश्वेश्वरप्रसाद कोइराला स्मृति पुस्तकालयको पनि उद्घाटन गरेका छन्। उनले प्रदेश सरकारले विभिन्न जिल्लामा विपन्न नागरिकको आयआर्जनका लागि कार्यक्रम सञ्चालन गर्दै समानुपातिक भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए।

कार्यक्रममा कांग्रेस मकवानपुर सभापति लामाले प्रमुख राजनीतिक दलहरू सत्ताको होडबाजीभन्दा जनताको विकास आवश्यकता सम्बोधनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।