काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दावी पेस गरेका छन् । कांग्रेस र एमालेका तर्फबाट सोमबार संयुक्त रूपमा मुख्यमन्त्री पदमा बानियाँले दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पेस गरिएको दावीमा ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको उल्लेख छ ।

संविधानको धारा १६८ (२) अनुसार बहुमत प्राप्त गर्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधानअनुसार उनीहरूले दाबी पेस गरेका हुन् । दावी पेस गरिएको निवेदनमा कांग्रेस संसदीय दलका नेता बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थापाद्वारा हस्ताक्षर गरिएको छ।

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पदबाट राजीनामा घोषणा गरेका थिए । उनको राजीनामा पत्र आज प्रदेश प्रमुख कार्यालयमा बुझाइएको थियो । लगत्तै प्रदेश प्रमुखले मंगलबारसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । तर कांग्रेस र एमालेले आजै दाबी पेस गरेका हुन् । अब प्रदेश प्रमुख देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्री नियुक्त गर्नेछन् ।