काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रियामा गुटबन्दी, दुष्प्रचार र चरित्रहत्या गर्ने आकांक्षीमाथि कडा कारबाही गर्ने जनाएको छ ।

पार्टीले सार्वजनिक गरेको ‘उम्मेदवार छनोट रुपरेखा–२०८३’ अन्तर्गतको आचारसंहिता तथा दण्ड–सजायसम्बन्धी विशेष व्यवस्थामा पार्टीको आधिकारिक संयन्त्रबाहिर गतिविधि गरी उम्मेदवारीका लागि दबाब सिर्जना गर्ने वा निर्णय प्रक्रियामा अवरोध पुर्‍याउने कार्यलाई गम्भीर अनुशासनहीनता मानिने उल्लेख गरिएको छ।

रुपरेखाअनुसार उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह बनाउने, आधिकारिक निर्णय प्रक्रियामा अवरोध पुर्‍याउने तथा अन्य आकांक्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्रहत्या गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिनेछ।

ADVERTISEMENT

रास्वपाले राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचार–केन्द्रित हुनुपर्ने उल्लेख गर्दै व्यक्तिहत्यात्मक, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिइने स्पष्ट पारेको छ।

ADVERTISEMENT

यस्ता गतिविधिमा संलग्न आकांक्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरिने र उनीहरूमाथि अनुशासनात्मक कारबाही अघि बढाइने पार्टीले जनाएको छ।