काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने भन्ने विषयमा छलफल भएको जनाएको छ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका विषयमा राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले यस्तो जानकारी दिएका हुन्।

ADVERTISEMENT

उनका अनुसार बैठकमा स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकै समयमा गराउँदा हुने फाइदा तथा बेफाइदाबारे छलफल भएको थियो। निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायत निर्वाचनसँग सम्बन्धित विभिन्न काम भइरहेको विषयमा राजनीतिक दलका शीर्ष नेतृत्वलाई जानकारी गराएको उनले बताए।

ADVERTISEMENT

‘निर्वाचन आयोगको तर्फबाट मतदाता नामावली अद्यावधिक लगायतका विभिन्न कामहरू भइरहेको सन्दर्भमा आयोगले राजनीतिक दलको शीर्ष नेतृत्वलाई जानकारी दिएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचन र प्रदेश निर्वाचन एउटै समयमा गर्न सकिन्छ कि सकिँदैन भनेर राजनीतिक दलका तर्फबाट उहाँहरू सहभागी हुनुभयो।’

खरेलका अनुसार आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ। त्यसको दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने अवस्था रहेको छ भने मंसिरको पहिलो साता प्रदेशसभाको निर्वाचन गर्नुपर्ने अवस्था छ।

यस्तो अवस्थामा दुवै निर्वाचन एकैपटक गर्न सकिन्छ वा छुट्टाछुट्टै गर्नुपर्ने हो भन्ने विषयमा छलफल भएको उनले बताए।

यस विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा थप छलफल हुने खरेलले जानकारी दिए। निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच पनि व्यापक छलफल आवश्यक रहेको उनको भनाइ छ।

शुक्रबारको बैठक प्रारम्भिक छलफल मात्रै भएकाले यसैका आधारमा रास्वपाको आधिकारिक धारणा तय नभएको उनले स्पष्ट पारे।