काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। उनी भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म चीन भ्रमणमा जाने तय भएको स्रोतले बतायो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा लामिछाने पहिलोपटक चीन भ्रमणमा जान लागेका हुन्। रास्वपाले सत्ता सम्हालेपछि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमण गरेका थिए।
बेइजिङमा लामिछानेको उपराष्ट्रपति हान झेङ र विदेशमन्त्री वाङ यीसँग भेट तय भएको छ। उनको पहिलो भेट सीपीसीको विदेश विभागका प्रमुख लिउ हाइसिङसँग हुनेछ ।
लामिछानेले पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने जनाइएको छ, जसमा उनकी पत्नी निकिता पौड्याल पनि हुनेछिन्। बोइजिङपछि लामिछाने प्रतिनिधिमण्डल तिब्बतको कैलाश मानसरोवरसम्म जाने तय भएको छ।
चीनका राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङसँग लामिछानेको भेट हुने नहुने अझै तय भइसकेको छैन ।









