काठमाडौं । अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ ।

यसैबीच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसङ्घको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।

ADVERTISEMENT

पश्चिम एसियामा बढ्दो भू(राजनीतिक तनाव र आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण विश्वव्यापी बजारमा कच्चा तेलको मूल्यमा फेरि भारी वृद्धि भएको छ। मे महिनापछि पहिलोपटक ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर पुगेको छ।

ADVERTISEMENT

अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही तीव्र पारेसँगै बिहीबार तेलको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको हो। यसका साथै यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्यांकरहरूमाथि गरेको आक्रमणले साउदी अरेबियाको प्रमुख निर्यात मार्गमा खतरा उत्पन्न गराएपछि बजारमा ऊर्जा संकटको डर फैलिएको छ।

यसअघि अमेरिका र इरानबीच भएको अस्थायी युद्धविरामका कारण तेलको मूल्यमा केही गिरावट देखिएको थियो। तर, युद्धविराम असफल भएपछि र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान सम्झौताका लागि तयार नभएको बताएपछि तनाव फेरि उत्कर्षमा पुगेको छ।

ADVERTISEMENT

तेलसँगै प्राकृतिक ग्यासको मूल्य पनि बढेको छ। बेलायतमा जुन महिनामा प्रति थर्म ९८ पेन्स रहेको ग्यासको मूल्य हाल १५० पेन्स पुगिसकेको छ। इन्धनको मूल्यमा भएको बढोत्तरीले अमेरिका र बेलायतलगायतका देशहरूमा मुद्रास्फीति पुनः बढ्ने खतरा निम्त्याएको छ।

इन्धन महँगो हुँदा ढुवानी लागत बढ्ने र त्यसको प्रत्यक्ष असर खाद्यान्नलगायतका उपभोग्य वस्तुको मूल्यमा पर्ने निश्चित छ।