काठमाडौँ/वाशिङ्टन। डोनाल्ड ट्रपले शनिबार इरानविरुद्ध “ठूलो सैन्य कारबाही” सुरु गरिएको पुष्टि गरेका छन्। आफ्नो सामाजिक सञ्जाल खातामा भिडियो सन्देश जारी गर्दै उनले अमेरिकी जनतालाई जोगाउन र “इरानी शासनबाट उत्पन्न आसन्न खतराहरू अन्त्य गर्न” कारबाही गरिएको बताए।

अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रेउटर्सले जनाएअनुसार अमेरिकी फौजले हवाई र समुद्री मार्गबाट इरानमाथि आक्रमण गरेको हो। एक इरानी अधिकारीलाई उद्धृत गर्दै समाचारमा दक्षिणी तेहरानका केही मन्त्रालयहरू निशानामा परेको उल्लेख छ।

ADVERTISEMENT

आक्रमणपछि मध्यपूर्वका विभिन्न सहरहरूमा विस्फोट सुनिएको रिपोर्टहरू आएका छन्। इरानले प्रतिआक्रमण सुरु गरेपछि जेरुसालेममा समेत साइरन बजेको बताइएको छ। दुबईस्थित एक टेलिभिजन उत्पादकले संयुक्त अरब इमिरेट्समा दुईवटा विस्फोट सुनेको जानकारी दिएका छन्।

कतार र यूएईले इरानको मिसाइल प्रहारको कडा निन्दा गरेका छन्। कतारको रक्षा मन्त्रालयले “इरानी ब्यालिस्टिक मिसाइलद्वारा कतारी भूमिमा लक्षित आक्रमण राष्ट्रिय सार्वभौमिकताको ठाडो उल्लंघन” भएको जनाएको छ। यूएईको रक्षा मन्त्रालयले पनि हवाई प्रतिरक्षा प्रणालीमार्फत धेरै मिसाइल अवरोध गरिएको दाबी गरेको छ।

ADVERTISEMENT

ट्रम्पले इरानले वार्ताक्रम चलिरहेकै अवस्थामा आणविक हतियार विकासको प्रयास जारी राखेको आरोप लगाए। उनले गत जुनमा गरिएको “अपरेशन मिडनाइट ह्यामर” अन्तर्गत फोर्दो र इस्फहानका आणविक केन्द्र ध्वस्त पारिएको दाबी गर्दै इरानलाई पुनः यस्तो गतिविधि नगर्न चेतावनी दिइएको बताए।

                                                                                                                                                              तस्वीर : CNBC

यसैबीच, बेन्जामिन  नेतान्याहूले ट्रम्पको “ऐतिहासिक नेतृत्व” को प्रशंसा गरेका छन्। इजरायली सेनाले इरानबाट प्रक्षेपित मिसाइलहरू पहिचान गरिएको र अवरोध प्रणाली सक्रिय गरिएको जनाएको छ।

इरानको विदेश मन्त्रालयले भने अमेरिका र इजरायलले “राष्ट्रिय सार्वभौमिकताको घोर उल्लंघन” गरेको आरोप लगाउँदै कडा प्रतिक्रिया दिएको छ। बहराइनस्थित अमेरिकी पाँचौं फ्लीटको सेवा केन्द्रमाथि पनि मिसाइल आक्रमण भएको दाबी गरिएको छ। मनामा स्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

क्षेत्रीय तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। दुबईस्थित एयरलाइन्सले उडान तालिका समायोजन गरिरहेको जनाएको छ भने जर्मन वायुसेवा कम्पनीले तेलअभिभ, बेरुत र ओमानका लागि उडान अस्थायी रूपमा स्थगित गरेको बताइएको छ।

यस घटनापछि विश्व नेताहरूले चिन्ता व्यक्त गरेका छन्। एमानुएल म्याक्रोनले अमेरिका–इजरायल–इरानबीचको युद्धले “गम्भीर परिणाम” ल्याउन सक्ने चेतावनी दिँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आग्रह गरेका छन्। रूसले पनि अमेरिकी र इजरायली आक्रमणको कडा आलोचना गरेको छ।

ऊर्जा बजारमा समेत प्रभाव देखिएको छ। इरान ओपेकको संस्थापक सदस्य तथा विश्वको प्रमुख तेल उत्पादक राष्ट्र हो। विशेषगरी होर्मुज जलडमरूजहाँबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने गर्दछक्षेत्रीय अस्थिरताले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ।