काठमाडौं । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको जवाफी कारबाहीमा मारिएका छन् । घटनामा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् ।
घटनाका समयमा राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका भए पनि उहाँ सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।
सुरक्षाकर्मीको गोली लागेपछि संदिग्धलाई अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । गोली हानाहानका क्रममा घटनास्थलमा रहेका एक दर्शक पनि घाइते भएका छन् । उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मारिएका व्यक्ति मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्ट हुन् । उनको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र यसअघि पनि सेक्रेट सर्भिससँग पटक–पटक सम्पर्क भएको बताइएको छ ।
घटनामा कुनै पनि सेक्रेट सर्भिस अधिकारी घाइते नभएको जनाइएको छ । गोलीकाण्डपछि प्रहरीले ह्वाइट हाउस आसपासको क्षेत्रलाई तत्काल नियन्त्रणमा लिँदै सुरक्षा कडा बनाएको थियो । नेसनल गार्डका सैनिकहरूले वासिङ्टन डीसीको डाउनटाउन क्षेत्रमा आवतजावतमा समेत निगरानी बढाएका थिए ।
घटनास्थल नजिक रहेका क्यानाडाली पर्यटक रिड एड्रियनले सुरुमा आतशबाजी पड्किएको जस्तो आवाज सुने पनि केही क्षणपछि त्यो गोलीको आवाज भएको थाहा पाएको बताएका छन् । उनका अनुसार त्यसपछि मानिसहरू भागाभाग गर्न थालेका थिए ।
गोलीकाण्डका बेला ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षमा सुरक्षित हुन निर्देशन दिइएको थियो । एबिसी न्युजकी संवाददाता सेलिना वाङले सामाजिक सञ्जालमा आफूले गोली चलेको आवाज भिडियोमा कैद गरेको उल्लेख गरेकी छन् ।
“दर्जनौँ गोली चलेको महसुस भयो,” उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन् ।
यस घटनालाई राष्ट्रपति ट्रम्पमाथि विगत केही समययता भइरहेका कथित सुरक्षा खतरासँग जोडेर हेरिएको छ । ट्रम्प यसअघि पनि विभिन्न कथित हत्या प्रयासको लक्ष्य बनेका थिए ।
अप्रिल २५ मा ट्रम्प मिडिया गालामा सुरक्षा चौकीमाथि सशस्त्र आक्रमण भएको थियो भने जुलाई २०२४ मा पेन्सिलभेनियाको चुनावी र्यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । त्यस घटनामा एक दर्शकको मृत्यु भएको थियो भने ट्रम्प सामान्य घाइते भएका थिए ।
शनिबारको घटनापछि अमेरिकी हाउस रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्प सुरक्षित रहेकोमा राहत व्यक्त गर्दै सेक्रेट सर्भिसको द्रुत प्रतिक्रियाको प्रशंसा गरेका छन् । उनीहरूले राजनीतिक हिंसा अन्त्य हुनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।








