वाशिङ्टन।  अमेरिका र डेनमार्कले ग्रीनल्यान्डसम्बन्धी सन् १९५१ मा भएको रक्षा सम्झौता पुनःवार्ता गर्ने तयारी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुट्टेबीच भएको छलफलसँग परिचित एक स्रोतले बिहीबार एएफपीलाई दिएको जानकारी अनुसार यो प्रक्रिया अघि बढाइने भएको हो।

स्रोतका अनुसार युरोपेली सहयोगी राष्ट्रहरूले पनि आर्कटिक क्षेत्रको सुरक्षा मजबुत बनाउने तयारी गरेका छन्। तर ग्रीनल्यान्डमा अमेरिकी सार्वभौमिकता अन्तर्गत नयाँ सैन्य आधारस्थल स्थापना गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारिएको छ।

ADVERTISEMENT

“१९५१ को सम्झौता पुनःवार्ता गरिनेछ,” स्रोतले भने।

सन् २००४ मा अद्यावधिक गरिएको उक्त रक्षा सम्झौताले डेनमार्क र ग्रीनल्यान्डका अधिकारीहरूलाई अग्रिम जानकारी दिएपछि अमेरिकालाई सैनिक तैनाथी बढाउने स्वतन्त्रता दिँदै आएको छ। हाल अमेरिकाको ग्रीनल्यान्डमा एक मात्र सैन्य आधार छ — उत्तरपश्चिम क्षेत्रमा रहेको पिटुफिक स्पेस बेस, जुन अमेरिकी क्षेप्यास्त्र रक्षा प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ।

ADVERTISEMENT

बुधबार राष्ट्रपति ट्रम्पले स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा नेटो प्रमुख रुट्टेसँगको भेटपछि एक ‘ढाँचागत सम्झौता’ भएको घोषणा गरेका थिए। तर उक्त सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

नेटो प्रमुख रुट्टेले बिहीबार भने, बैठकबाट निस्किएको एक “कार्यधारा” भनेको “चीन र रुसले ग्रीनल्यान्डको अर्थतन्त्र वा सैन्य क्षेत्रमा पहुँच नपाउने सुनिश्चित गर्नु” रहेको बताए।

ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिन सकिने ट्रम्पका अभिव्यक्तिहरूले ट्रान्सएटलान्टिक गठबन्धनमा तनाव सिर्जना गरेको छ भने नेटोलाई पछिल्ला दशकहरूमै सबैभन्दा गम्भीर संकटतर्फ धकेलेको विश्लेषण गरिएको छ।

यसैबीच, केही युरोपेली देशहरूले आर्कटिक क्षेत्रमा सुरक्षा सुदृढ गर्न नेटोको औपचारिक मिशन सुरु गर्न दबाब दिँदै आएका छन्, जसलाई ट्रम्पले ग्रीनल्यान्डप्रति आफ्नो चासोको औचित्यका रूपमा प्रस्तुत गरेका छन्।