काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आज काठमाडौंस्थित प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गर्दैछ।
पार्टीको संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रीन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरिरहेको बेला इतर समूहले भने अलग्गै कार्यक्रम गर्न लागेको हो।
संस्थापनइतर समूहले ३ साउनमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकबाट बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको थियो।
समारोहको व्यवस्थापनका लागि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। साथै आवश्यकता अनुसार प्रचारप्रसार, व्यवस्थापनलगायत विभिन्न उपसमितिहरू पनि गठन गर्ने निर्णय गरिएको छ।
बीपी कोइरालाको स्मृति दिवसका अवसरमा कांग्रेसका दुवै पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेकाले पार्टीभित्रको आन्तरिक ध्रुवीकरण फेरि एकपटक सार्वजनिक रूपमा देखिएको छ।






