काठमाडौं।  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको चरित्र र भूमिकामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब पार्टी परिक्रमावादी नभई पराक्रमवादी बन्नुपर्ने स्पष्ट धारणा राखे।

“अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीहरूको कांग्रेस बनाउनुपर्नेछ,” केसीले भने। उनले पार्टी नेतृत्व र कार्यशैलीमा साहसिक निर्णय र सक्रियताको खाँचो औंल्याए।

केसीले देश गम्भीर रूपमा भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्दै विशेष महाधिवेशनले भ्रष्टाचारविरुद्ध कडा र स्पष्ट प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिए। उनका अनुसार राज्यका सबै संरचनामा व्याप्त भ्रष्टाचार नियन्त्रण नगरी मुलुकको सुशासन सम्भव छैन।

ADVERTISEMENT

उनले अहिलेसम्म सार्वजनिक पदमा बसेका सबै व्यक्तिलाई छानबिनको दायरामा ल्याउनुपर्ने धारणा व्यक्त गर्दै आर्थिक सुधारका लागि ठूला नोटहरू प्रतिस्थापन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। पाँच सय र एक हजार दरका नोट हटाउने कदमले अवैध धन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनको तर्क थियो।

ADVERTISEMENT

कांग्रेसभित्र सुधार, पारदर्शिता र सुशासनको बहसलाई थप तीव्र बनाउनु पर्नेमा उनको विशेष जोड थियो।