ललितपुर । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।
ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस सभापति गगन थापाले नगद पुरस्कार प्रदान गरेका हुन् ।
प्रतियोगिताका लागि तय गरिएको पाँच किलोमिटरको धावन मार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भए। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे ।
दोस्रो भएका नरेन्द्रसिंह रावललाई २५ हजार र तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ। प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका मृत ठकुरीलाई १० हजार र छैटौ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगितामा सहभागिताका लागि झण्डै १४ सयजनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावन मार्ग छोडेर दौडेकाले उनीहरुलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ । ग्रीन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी भएका थिए भने अन्य सयौँले अप्रतियोगीको रुपमा सहभागिता जनाएका थिए।
ग्रीन रन प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तनसम्बन्धी विज्ञहरूका बीचमा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो।
पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइएको थियो।
कांग्रेसले आजै मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए।
कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट संकलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि उनले बताए
कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए ।
कांग्रेसले भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।






