काठमाडौं । राष्ट्रिय परिचयपत्र नभएका पुराना बैंक खातामा कारोबार गर्न नपाइने भएको छ । बैंक खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै राष्ट्र बैंकले यस्तो कदम चालेको हो ।

यसअघि बैंकहरूले १ माघ २०८१ देखि नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिसकेका थिए । अब पुराना खाताहरूमा पनि यसलाई अनिवार्य गर्न लागिएको हो ।

ADVERTISEMENT

बैंक खाता खोल्न र चलाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने राष्ट्र बैंकको अघिल्लो निर्णयले देशभरका विशेषगरी ग्रामीण, वृद्धवृद्धा र अशक्त नागरिकहरू ठूलो मर्कामा परेका थिए । धेरैको खाता रोक्का हुने अवस्था आएपछि राष्ट्र बैंकले यो नियममा व्यापक संशोधन गर्दै लचिलो बनाएको छ । नेपाल राष्ट्र बैंकले बुधवार एकीकृत परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

अब ग्राहकहरूले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा बैंकको अन्य सजिलो माध्यमबाट आफूसँग राष्ट्रिय परिचयपत्र भए नभएको स्वघोषणा (सेल्फ डिक्लारेसन) गरे पुग्ने भएको छ ।

ADVERTISEMENT

राष्ट्रिय परिचयपत्र लिन नसकेका नेपाली नागरिकहरूको हकमा बैंकहरूले ग्राहक पहिचान अपडेट गराउन हरेक ६–६ महिनामा मोबाइल एप वा अन्य माध्यमबाट जानकारी (नोटिफिकेसन) मात्र पठाए पुग्ने परिपत्रमा उल्लेख छ । परिचयपत्र नभएकै आधारमा खाता रोक्का नहुने भएको छ ।

विदेशमा बस्ने नेपालीहरूले उतैबाट अनलाइन खाता खोल्न चाहेमा राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ । उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र विवरण बुझाए पुग्ने भएको छ ।

आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूको हकमा राष्ट्रिय परिचयपत्र बिना नै अन्य आवश्यक सरकारी कागजातका आधारमा बैंक खाता खोल्न र चलाउन पाइने भएको छ ।