काठमाडौं, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको अवधिमा तरलता व्यवस्थापन अन्तर्गत कुल १८९ खर्ब ३५ करोड रुपैयाँ बराबरको तरलता  प्रशोचनको प्रस्ताव गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागको तथ्यांक अनुसार, सो अवधिमा तरलता प्रशोचन गर्ने उपकरण १० पटक प्रयोग गरिएको छ।

तरलता प्रशोचन गर्ने सामान्य उपकरण अन्तर्गत “निक्षेप संकलन” मात्र ४ पटक प्रयोग गरिएको छ, जसमा २० खर्ब ५० करोड रुपैयाँ प्रस्ताव गरिएकोमा १७ खर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ। यसरी संकलित रकममध्ये ४० खर्ब ६० करोड रुपैयाँ अझै बाँकी (आउटस्ट्यान्डिङ) रूपमा रहेको छ।

त्यस्तै, तरलता प्रशोचन गर्ने ब्याजदर करिडोर (IRC) अन्तर्गतको ‘स्थायी निक्षेप सुविधा’ (SDF)’ ६ पटक प्रयोग गरिएको छ, जसमा १६८ खर्ब ५३ करोड ५० लाख रुपैयाँ बराबरको रकम प्रस्ताव गरिएको थियो र सोही रकम बराबरको कारोबार भएको देखिन्छ। यस अन्तर्गत २७ खर्ब ३४ करोड रुपैयाँ अहिले पनि बक्यौताको  अवस्थामा रहेको छ।

कुल रूपमा हेर्दा तरलता प्रशोचन गर्ने उपकरणबाट १८६ खर्ब २३ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ भने हालसम्म ६७ खर्ब ९४ करोड रुपैयाँ अझै प्रणालीबाट प्रशोचित गरिएको अवस्थामा छ।