काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा उल्लेखनीय रूपमा हस्तक्षेप गरेको छ। यस अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खरिद गरेको छ, जसका लागि बजारमा ४ खर्ब ९३ अर्ब ४ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ।

गत वर्षको यही अवधिमा डलर खरिद मात्र २ अर्ब ५२ करोड रहेको थियो र त्यसका लागि ३ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ बजारमा पठाइएको थियो। यस वर्ष डलर खरिद र बजारमा पठाइएको रुपैयाँ दुवै उल्लेखनीय रूपमा बढेको देखिन्छ। रेमिट्यान्स र अन्य स्रोतबाट विदेशी मुद्रा आपूर्ति बढेकाले केन्द्रिय बैंकको हस्तक्षेपमा वृद्धि भएको विश्लेषकहरू बताउँछन्।

त्यस्तै, राष्ट्र बैंकले २ अर्ब ६ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ९२ अर्ब ९१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९० करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।

राष्ट्र बैंकका अनुसार, डलर र भारतीय रुपैयाँ व्यवस्थापनमा गरिएको यो सक्रियता विनिमय दर स्थिर राख्न र विदेशी मुद्रा सञ्चिति सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ