काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन कार्ययोजना तयार गरी २०८३ पुस मसान्तभित्र लागू गर्न निर्देशन दिएको छ।
शुक्रबार एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न भनेको हो।
निर्देशनअनुसार खाता निष्क्रिय हुनुअघि बैंकहरूले फोन, एसएमएस, इमेललगायत माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ। यस्तै, निष्क्रिय भएका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकसँग सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले ग्राहकले नेपालभरका जुनसुकै शाखा वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा खाता बन्द गर्न सक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम ग्राहकले तोकेको अर्को बैंक खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, जुनसुकै शाखाबाट ग्राहकको पहिचान गरी निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन तथा पुनः सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।





