काठमाडौं । टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल ‘आरटीएक्स३००’ चाँडै नेपाली बजारमा भित्रिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यसलाई भित्र्याउन लागेको हो ।
कम्पनीले आरटीएक्स३०० नेपाल ल्याइसकेको छ र विभिन्न सडकमा यसको परीक्षणसमेत गरिरहेको छ । यद्यपि, सार्वजनिक मिति भने औपचारिक रूपमा घोषणा गरिएको छैन । आगामी साउनमा आयोजना हुने ‘नाइमा मोबिलिटी एक्स्पो’मा यसलाई सार्वजनिक गर्ने सम्भावना छ ।
टीभीएसको नयाँ ३०० सीसी इन्जिन प्लेटफर्ममा आधारित आरटीएक्स३०० ले भारतीय बजारमा राम्रो प्रतिक्रिया पाएको छ । नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध भए यसले आफ्नो सेग्मेन्टका अन्य मोटरसाइकललाई कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
साहसिक तथा लामो दूरीको यात्रालाई लक्षित गरी निर्माण गरिएको आरटीएक्स३०० मा शक्तिशाली इन्जिन, आधुनिक प्रविधि र प्रिमियम फिचरहरू समावेश गरिएका छन् । यस्ता छन् यो मोटरसाइकलका नौ प्रमुख विशेषताः
१. नयाँ आरटी–एक्सडी४ इन्जिन
आरटीएक्स३०० मा २९९.१ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्विड–कुल्ड, फोर–भल्भ, डीओएचसी इन्जिन प्रयोग गरिएको छ । यसले नौ हजार आरपीएममा ३५ पीएस पावर र सात हजार आरपीएममा २८.५ एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा प्रयोग गरिएको डुअल कुलिङ प्रविधिले लामो यात्राका क्रममा इन्जिनको तापक्रम सन्तुलित राख्दै उत्कृष्ट पर्फर्मेन्स प्रदान गर्छ ।
२. चारवटा राइडिङ मोड
यो मोटरसाइकलमा अर्बन, रेन, टुर र र्याली गरी चारवटा राइडिङ मोड उपलब्ध छन् । सडकको अवस्था र यात्राको आवश्यकताअनुसार राइडिङ मोड परिवर्तन गर्न सकिने भएकाले सहरदेखि अफरोडसम्म सहज र सुरक्षित यात्रा अनुभव प्राप्त गर्न सकिन्छ ।
३. बाइ–डाइरेक्सनल क्विकसिफ्टर र स्लिप एन्ड असिस्ट क्लच
आरटीएक्स३०० मा बाइ–डाइरेक्सनल क्विकसिफ्टर उपलब्ध छ, जसको सहायताले क्लच प्रयोग नगरी गियर अपसिफ्ट र डाउनसिफ्ट गर्न सकिन्छ । यसले विशेषगरी लामो दूरीको यात्रा र अफरोड राइडिङलाई थप सहज बनाउँछ । त्यस्तै, स्लिप एन्ड असिस्ट क्लचले कम बल प्रयोग गरेर सहज रूपमा गियर परिवर्तन गर्न मद्दत गर्नुका साथै अचानक गियर घटाउँदा पछाडिको पाङ्ग्रा लक हुनबाट जोगाउँछ ।
४. क्रुज कन्ट्रोल सुविधा
लामो दूरीको यात्रालाई आरामदायी बनाउन यसमा क्रुज कन्ट्रोल फिचर थपिएको छ । निश्चित गतिमा मोटरसाइकल सञ्चालन गर्न सकिने भएकाले लामो समयसम्म यात्रा गर्दा चालकको थकान कम हुन्छ ।
५. स्मार्ट टीएफटी डिस्प्ले
आरटीएक्स३०० मा ५ इन्चको कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध छ । यसमा टीभीएसको स्मार्ट कनेक्टिभिटी प्रणाली, टर्न–बाइ–टर्न नेभिगेसन, कल तथा सन्देश सूचना, संगीत नियन्त्रण र म्याप मिररिङजस्ता सुविधा समावेश छन्। स्मार्टफोनसँग जडान गरी आवश्यक जानकारी सहजै हेर्न सकिन्छ ।
६. ट्रयाक्सन कन्ट्रोल र स्विचेबल एबीएस
कठिन तथा अफरोड सडकमा उत्कृष्ट नियन्त्रणका लागि यसमा लिनियर ट्रयाक्सन कन्ट्रोल प्रणाली दिइएको छ । साथै, आवश्यकताअनुसार पछाडिको एबीएस बन्द गर्न सकिने भएकाले अफरोड यात्रामा थप नियन्त्रण प्राप्त हुन्छ ।
७. एड्भेन्चर–रेडी सस्पेन्सन र उच्च ग्राउन्ड क्लियरेन्स
यो मोटरसाइकलमा अगाडि डब्लूपी इन्भर्टेड फोर्क र पछाडि प्रिलोड–एड्जस्टेबल मोनोशक सस्पेन्सन सेटअप उपलब्ध छ । १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको ह्वीलसँगै यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । ब्लक प्याटर्नयुक्त ट्युबलेस टायर र लामो सस्पेन्सन ट्राभलका कारण खराब सडकमा पनि सहज यात्रा गर्न सकिन्छ। यसको सस्पेन्सन सेटअप नेपालको भौगोलिक अवस्थालाई समेत सुहाउने खालको रहेको बताइएको छ।
८. लगेज बोक्न सहज डिजाइन
लामो दूरीको यात्रालाई ध्यानमा राखेर कम्पनीले यसमा प्यानियर तथा टप बक्स जडान गर्न मिल्ने माउन्ट उपलब्ध गराएको छ । यसले अतिरिक्त सामान बोक्न सहज बनाउने भएकाले टुरिङका पारखीहरूका लागि उपयोगी विकल्प बन्न सक्छ।
९. बिल्ड–टु–अर्डर (बीटीओ) विकल्प
आरटीएक्स३०० को अर्को आकर्षक पक्ष भनेको यसको बिल्ड–टु–अर्डर (बीटीओ) सुविधा हो । यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार विभिन्न फिचर तथा एक्सेसरिज छनोट गरी मोटरसाइकललाई आफूअनुकूल कस्टमाइज गरेर अर्डर गर्न सक्नेछन् ।





