काठमाडौँ। पोखरा महानगरपालिका–१८ सेदीस्थित एक घरबाट सञ्चालन भइरहेको अवैध अनलाइन सट्टेबाजी (बेटिङ) कारोबारमा संलग्न भारतीय नागरिकसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उक्त गिरोहले २० करोड ६९ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरेको खुलेको छ।
विशेष सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापा मार्दा उनीहरूलाई अनलाइन बेटिङ सञ्चालन गरिरहेकै अवस्थामा पक्राउ गरिएको हो। उनीहरूले स्थानीय जीवन श्रेष्ठको घरमा सातवटा कोठा भाडामा लिएर ‘सफ्टवेयर’ सम्बन्धी काम गर्ने बहानामा अवैध सट्टेबाजी सञ्चालन गर्दै आएका थिए।
प्रहरीले बरामद गरेका तीनवटा कम्प्युटरको प्रारम्भिक परीक्षणमा कुल २० करोड ६९ लाख ८९ हजार ८३४ रुपैयाँ बराबरको क्रेडिट कारोबार भएको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार गिरोहले कारोबारका लागि एक्सिस बैंक, आइडीएफसी बैंक, क्यानरा बैंकलगायत भारतीय बैंक तथा २४ पे, पे बजार, गुगल पे र नोक्सोन पे जस्ता डिजिटल वालेट प्रयोग गर्दै आएको पाइएको छ।
प्रहरीका अनुसार भारतको भुपा मानपुरका ३४ वर्षीय सत्यम सिंह गिरोहका मुख्य सञ्चालक हुन्। उनीसँगै भारतका हर्ष उसरेटे, विशाल चाउ, जमान सिंह तमार, विक्रान सिंह, अजितेशकुमार मिश्र, सत्यम राजपूत तथा नेपालका दार्चुलाका दिनेश सिंह बोहोरालाई पक्राउ गरिएको छ।
अनुसन्धानका क्रममा गिरोहले टेलिग्राम र ह्वाट्सएपमार्फत ‘गुरुभाइ २४७ डट प्रो’ नामक लिंक प्रयोग गरी प्रयोगकर्तालाई आबद्ध गराउने, रकम जम्मा गराएर क्रिकेट, फुटबल र क्यासिनो खेलमा सट्टेबाजी गराउने तथा जितेको रकम अनलाइनमार्फत भुक्तानी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट ७ थान ल्यापटप, ६ थान मनिटर, ३१ थान मोबाइल, ३४ थान भारतीय सिमकार्ड, ९ थान किबोर्ड, २ थान राउटर, ब्याट्री र युपिएसलगायतका विद्युतीय उपकरण बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नविन कार्कीका अनुसार यो अन्तरदेशीय गिरोहको मुख्य सञ्चालन केन्द्र भारतमा रहेको र पोखराको कार्यालय यसको २७औँ शाखा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गिरोहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँसम्म आम्दानी गर्ने र त्यहाँ कार्यरत कर्मचारीलाई मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक दिने गरेको पनि प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेको छ।






