काठमाडौं । दक्षिणपूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन ठगी केन्द्र (स्क्यामिङ सेन्टर) मा फसेका ८६० जना नेपाली नागरिकको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा सञ्चालित यस्ता केन्द्रबाट नेपाली नागरिकको उद्धार गरिएको जनाएको हो।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अनलाइन ठगी केन्द्रमा नेपाली फस्ने क्रम अझै पूर्ण रूपमा नरोकिएको बताए। त्यस्ता केन्द्रमा फसेका तथा अलपत्र परेका नेपालीलाई उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउन सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको उनले जानकारी दिए।
ठगीमा परेका नेपाली नागरिक तथा उनीहरूका आफन्तले परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली राजदूतावासमा सम्पर्क गर्ने क्रम जारी रहेको पनि उनले बताए।
साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्यु
यसैबीच, साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको मन्त्रालयले जनाएको छ।प्रवक्ता पौडेल क्षेत्रीका अनुसार कात्तिक ४ गते भएको उक्त घटनामा नेपाली नागरिकको मृत्यु भएको हो। मृतकको शव नेपाल ल्याउने विषयमा रियादस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय गरिरहेको उनले बताए।
नेपाल सरकारले यसअघि नै उक्त आक्रमणको भर्त्सना गर्दै सर्वसाधारण नागरिक तथा सार्वजनिक पूर्वाधारलाई कुनै पनि बहानामा निशाना बनाउन नहुने धारणा सार्वजनिक गरिसकेको छ। मन्त्रालयले असोज २५ गते विज्ञप्ति जारी गर्दै विवादको समाधान शान्तिपूर्ण माध्यमबाट गर्न आह्वान गरेको थियो। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ।
बिमस्टेकको २६ बुँदे घोषणापत्र जारी
क्षेत्रीय सहयोगअन्तर्गत बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ। अक्टोबर १३, २०२६ मा सम्पन्न बैठकले आतंकवाद, लागुऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य सुदृढ गर्ने २६ बुँदे घोषणापत्र जारी गरेको मन्त्रालयले जनाएको छ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका गृहमन्त्री सुधन गुरुङले सदस्य राष्ट्रहरूका साझा सुरक्षा चुनौती सामना गर्न आपसी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
सार्कका नयाँ महासचिव काठमाडौं आउँदै
यसैगरी, सार्कका १५औँ महासचिव मोहम्मद गोलाम सरवारले कार्यकाल पूरा गरी स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ। सार्कका १६औँ महासचिवका रूपमा नियुक्त भुटानका तासो सोनाम तोब्गे छिट्टै काठमाडौं आउने प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिए।
पाँच देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस
यस अवधिमा पाँच देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। मन्त्रालयका अनुसार असोज २८ गते नेपालका लागि युरोपेली संघ, इन्डोनेसिया, सुडान, घाना र ब्रुनाई दारुसलामका राजदूतहरूले राष्ट्रपति पौडेलसमक्ष प्रमाणपत्र पेस गरेका हुन्।
तीन महिनामा २ लाख ५० हजार राहदानी छपाइ
मन्त्रालयले नयाँ राहदानी प्रणाली कार्यान्वयनमा आएको तीन महिना पूरा भएको जनाएको छ। प्रणाली सञ्चालनका क्रममा देखिएका प्राविधिक समस्या समाधान गर्दै सेवा प्रवाहलाई सहज बनाउन मन्त्रालय र सम्बन्धित विभाग प्रतिबद्ध रहेको प्रवक्ता पौडेल क्षेत्रीले बताए।
मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३९ नेपाली नियोगमा लाइभ इनरोलमेन्ट सेवा सञ्चालनमा आएको छ। नयाँ प्रणालीमार्फत हालसम्म करिब २ लाख ५० हजार राहदानी छपाइ भइसकेको मन्त्रालयले जनाएको छ।








