काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा बाढीबाट प्रभावित स्थानमा नेपाल प्रहरीले प्रहरी चौकी पुनःस्थापना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिएको छ ।

भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रभावित क्षेत्रमा प्रहरी परिचालन, सुरक्षा व्यवस्था र खोजी कार्यको अवस्थाबारे जानकारी गराएका हुन् ।

ADVERTISEMENT

उनका अनुसार बेत्रावती, स्याफ्रुबेँसी, टिमुरे र हाकु क्षेत्रमा प्रहरी उपस्थिति पुनःस्थापित गरिएको छ । स्याफ्रुबेँसीमा प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरिएको छ भने भौगोलिक अवस्थाका कारण यसअघि प्रहरी उपस्थिति हटाइएको हाकु क्षेत्रमा समेत चौकी पुनःस्थापना गरिएको छ ।

ADVERTISEMENT

प्रहरी महानिरीक्षक कार्कीले प्रभावित क्षेत्रमा सार्वजनिक सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्नुका साथै बेपत्ता व्यक्तिहरूको खोजीलाई प्राथमिकता दिइएको बताए । स्थानीयवासीबाट प्राप्त सूचना र जनगुनासोका आधारमा समेत खोजी गर्नुपर्ने भएकाले प्रभावित क्षेत्रमा प्रहरीको स्थायी उपस्थिति आवश्यक रहेको उनको भनाइ छ ।

हाल उपलब्ध जनशक्ति र म्यानुअल विधिबाट खोजी कार्य भइरहेको उनले जानकारी दिए । जमिनमुनि पुरिएका शव पहिचान गर्न सक्ने आधुनिक प्रविधिको आवश्यकता औँल्याउँदै उनले डेढ मिटरसम्म जमिनमुनि रहेका शव पत्ता लगाउन सक्ने उपकरणबारे जानकारी प्राप्त भए पनि नेपाल प्रहरीसँग त्यस्तो प्रविधि प्रयोगमा नरहेको बताए ।

उनले आगामी दिनमा प्रहरी चौकी स्थापनाका लागि उपयुक्त स्थान पहिचान गरी स्थानीय सुरक्षा व्यवस्था सुदृढ बनाउने र नागरिकलाई सहज रूपमा प्रहरी सेवा उपलब्ध गराउने योजना रहेको पनि जानकारी दिए ।