काठमाडौं । सशस्त्र प्रहरी बलले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दीपक राई रहेका छन्।

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भारतबाट नेपाल ल्याएर लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागुऔषधका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको ट्रक, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

ADVERTISEMENT

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।