पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले आइतबार काठमाडौंको महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउको विस्तृत कारणबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

जवरा तत्कालीन पुनरावेदन अदालत बुटवलमा कामु मुख्य न्यायाधीश रहेका बेला २०७१ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। उनको संसदीय सुनुवाइका क्रममा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले नियुक्तिको विपक्षमा मत दिएका थिए। तर पछि एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाकै समर्थनमा उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीश बने।

ADVERTISEMENT

उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। कार्यकालका क्रममा मन्त्रिपरिषद्मा भागबण्डा लगायतका विषयमा विवादमा तानिएपछि उनको नेतृत्वमाथि प्रश्न उठेको थियो। उनीविरुद्ध कानुन व्यवसायीहरूले आन्दोलनसमेत गरेका थिए।

ADVERTISEMENT

२०७८ फागुन १ गते जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। प्रस्ताव लामो समय संसद्मा विचाराधीन रह्यो। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र पठाएका थिए।

जबराको पक्राउसँगै उनीविरुद्धका पुराना विवाद र महाअभियोग प्रकरण फेरि चर्चामा आएको छ। प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्न बाँकी छ।

ADVERTISEMENT