काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेको छ । मदन भण्डरीको ७५औं हिरक जयन्ती मनाउन सम्पर्क कार्यालय खुलेको बताइएको छ ।

विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन गरिएको छ । विगतमा मदन भण्डारीले चुनाव प्रचार प्रसार गर्न थापागाउँमा खोलेको घरमै विद्यादेवी समूहले अहिले सम्पर्क कार्यालय स्थापना गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

ADVERTISEMENT

‘०४८ सालमा मदन भण्डारीले काठमाडौँमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्न लागिएको हो’, एमालेका एक नेताले भने ।

ADVERTISEMENT

एमालेले विद्या भण्डारीलाई पार्टी सदस्यबाट अलग राख्ने निर्णय गरे पनि राजनीतिक यात्रा कायम रहेको बताउँदै उनले कार्यकर्ताहरुसँगको सम्पर्क बढाउँदै लगेकी छन् । उनले आफूलाई कसैले रोक्न नसकेको बताइसकेकी छन् ।

भण्डारी निकटका नेताहरू विधान महाधिवेशनमा छुट्टै दस्तावेज पेस गर्ने र त्यसको छलफलका लागि पनि छुट्टै घर लिएर कार्यालय सञ्चालन गरिएको स्रोतले बताएको छ ।

ADVERTISEMENT

एमाले महासचिव शंकर पोखरेलले विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको च्याप्टर क्लोज भएको बताएको भोलिपल्टै सम्पर्क कार्यालय खुलेको हो । पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता अघि बढाउने तयारी गरेकी छन् ।