काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले साधारण सदस्यतासमेत खोसेपछि प्रधानमन्त्री केपी ओली ‘मदन भण्डारी फाउन्डेसन’ विरुद्ध खनिएका छन् । उनले मदन भण्डारी फाउन्डेसन ठगी खाने भाँडो बनेको आरोप लगाएका छन्।

सोमबार च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै उनले भने, ‘भक्तपुर हो कि कता हो कम्युनिस्ट पाठशाला बनाइएको छ। त्यो व्यक्तिको हो कि, परिवारको हो कि, श्रीमान–श्रीमतीको हो कि, आन्दोलनका लागि हो कि ? ठगी खाने भाँडोको रूपमा खोलेका छन्। त्यस्तो हुनु हुँदैन। त्यस्ता प्रतिष्ठान संस्थाहरू पार्टीअन्तर्गत खोलिनुपर्छ,’ उनले भने ।

हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी छिन्। एमालेले अहिले जति लोकप्रियता हासिल गरेको छ त्यो मदन भण्डारीकै नाम बेचेर हो । त्यसैले ओलीले मदन भण्डारी फाउन्डेसनको विकल्पमा ‘मदन–आश्रित प्रतिष्ठान’ अघि सारेका छन् । यो प्रतिष्ठान ३१ वर्षअघि नै स्थापित भएको हो । प्रतिष्ठानको अध्यक्षमा प्रदीप ज्ञवाली चुनिएका छन् ।

प्रधानमन्त्री ओलीले त्यस्ता संस्थाहरूमा पार्टीकै नेताहरूले नेतृत्व गर्नुपर्ने बताए। उनले पार्टी मातहतमा रहे क्षमतावान् व्यक्तिहरूले मौका पाउने पनि बताए। उनले प्रदीप ज्ञवालीलाई आफूले गुरू भन्ने गरेको बताउँदै मदन आश्रित स्मृति प्रतिष्ठानमा सही नेतृत्व आएको बताए। ‘प्रदीप यस्तो मान्छे हुनुहुन्छ, मैले पनि उहाँलाई गुरू भन्छु। उहाँले सही नेतृत्व गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले भने।

ओलीले केही समयअघि मदन भण्डारी फाउन्डेसनको मञ्चबाटै मदन भण्डारीविरुद्ध आक्रोश पोखेका थिए । उनले मदनका चारवटी श्रीमती रहेको भन्ने सुनेको भन्दै सहकारी ठगीको आरोप पनि लगाएका थिए । सो मञ्चमा विद्यादेवी भण्डारीसमेत उपस्थित थिइन् । त्यहीबेलादेखि ओली र भण्डारीबीच वाकयुद्ध सुरु भएको हो ।