काठमाडौं । नेपाल प्रहरीले दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार चाडपर्वका बेला नागरिकको जनधनको सुरक्षा, धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना लागू गरिएको हो ।

ADVERTISEMENT

चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार र अवैध हुण्डी कारोबारलाई ध्यानमा राखेर सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । खुला सीमानाकाबाट अवैध हातहतियार, पटका, विस्फोटक पदार्थ तथा लागुऔषधको ओसारपसार र तस्करी नियन्त्रणमा पनि विशेष निगरानी गरिनेछ ।

ADVERTISEMENT

कुन क्षेत्रमा कति प्रहरी परिचालन हुँदैछन्?

प्रहरीका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीअन्तर्गत ७ हजार ६६८, कोशी प्रदेशमा ८ हजार १३३, मधेश प्रदेशमा ७ हजार २३०, बागमती प्रदेशमा ४ हजार ४९९, गण्डकी प्रदेशमा ५ हजार १८८, लुम्बिनी प्रदेशमा ७ हजार ९२१, कर्णाली प्रदेशमा ५ हजार ३१४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ प्रहरी परिचालन हुनेछन् ।

ADVERTISEMENT

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र अन्य सरोकारवाला निकायसँग समन्वय गरिने प्रहरीले जनाएको छ ।

देशभर ४०८ यात्रु सहायता कक्ष

चाडपर्वमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यसका लागि देशभरका विभिन्न स्थानमा ४०८ यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

यात्रु सहायता कक्ष सञ्चालनका लागि १ हजार १६५ प्रहरी परिचालन गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमानाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका वा भेटिएका व्यक्ति तथा सामानबारे समन्वय गर्ने, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष सहायता उपलब्ध गराउने तथा यात्रुका गुनासा सम्बन्धित प्रहरी कार्यालयमा पठाउने काम गरिनेछ ।

सवारीसाधन र चालकको जाँचमा कडाइ

काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधनका चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन र सवारीको सिट क्षमताअनुसार यात्रु राखे–नराखेको जाँच गरिनेछ ।

लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए–नभएको र सवारीको मेकानिकल परीक्षणसम्बन्धी प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।

सीसीटीभी, ड्रोन र सामाजिक सञ्जालबाट निगरानी

चाडपर्वको सुरक्षा व्यवस्थापनमा सीसीटीभी, बडीवर्न क्यामेरा, ड्रोन र तालिमप्राप्त कुकुर परिचालन गरिनेछ । प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमै सूचना आदानप्रदान गर्नुका साथै सामाजिक सञ्जालमा प्रवाह हुने सूचनाको विश्लेषण गरी आवश्यक प्रहरी परिचालन गरिने प्रवक्ता काफ्लेले बताएका छन् ।

बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक र चोक, सहरका प्रवेश तथा निकास नाका र सुनचाँदी कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ ।

यसैबीच, प्रहरीले आकर्षक उपहार दिने प्रलोभनमा हुने नक्कली अनलाइन सपिङ तथा बैंकिङ ठगीबाट सचेत रहन आग्रह गरेको छ । कसैले माग्दैमा आफ्नो ओटीपी, पिन तथा पासवर्डजस्ता गोप्य विवरण उपलब्ध नगराउन प्रहरीले नागरिकलाई अनुरोध गरेको छ ।