काठमाडौं । प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ।

भण्डारी एमालेको राजनीतिमा फर्किन खोजिरहेका बेला ओलीले उनको संगठित सदस्यता नै पेन्डिङमा राखिएको बताएपछि दुवैबीच भेटवार्ता भएको हो ।

एमाले पोलिटब्युरो बैठकले शनिबार भण्डारीको पार्टी सदस्यता नवीकरण होल्डमा राखी अध्यक्ष ओलीलाई छलफल गरेर टुंग्याउन सुझाव दिएको थियो । सोहीअनुसार आइतबार ओली र भण्डारीबीच छलफल भएको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई भेट्न भण्डारी दिउँसो साढे ३ बजे नै च्यासल पुगेकी थिइन् । भण्डारी पुगेको आधा घन्टापछि मात्र प्रधानमन्त्री ओली पुगेका थिए ।

भण्डारीले पहिले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग कुराकानी गरेकी थिइन् । त्यसपछि पुगेका प्रधानमन्त्री ओली, पूर्वराष्ट्रपति भण्डारी, एमाले उपाध्यक्ष पोखरेल र महासचिव शंकर पोखरेल, सुरेन्द्र पाण्डे, कर्ण थापाले फोटो सेसन गरेका थिए ।

फोटो सेसनपछि प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वन टु वन भेटवार्ता भएको छ ।