काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश र जनताको पक्षमा काम गर्न राजनीतिमा उत्रिएको बताएकी छन् । उनले संविधानमै उल्लेख भएको मौलिक अधिकारको प्रयोग गरेर राजनीतिमा ओर्लिएको र यसमा कुनै आश्चर्य मान्नुपर्ने विषय नभएको बताएकी छन् । एमालेले पार्टी सदस्यता खारेज गरेपछि भण्डारीले पहिलोपल्ट मुख खोलेकी हुन् ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा विशेष पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूले संवैधानिक अधिकार प्रयोग गरेको र एमालेको सदस्यता नवीकरण गरेको दाबी गरेकी छन् । उनले एमालेमा जिम्मेवारी दिने विषयमा अध्यक्ष केपी ओलीसँग पटकपटक छलफल भएको पनि स्मरण गराएकी छन् ।

‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,’ उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। ‘त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,’ उनले भनिन्।

पार्टी सदस्यबाटै राष्ट्रपति भएको र त्यहाँबाट फर्केर राजनीतिमा लागेको स्पष्ट पारेकी छन् । उनले आफूलाई पार्टी राजनीति गर्नबाट वञ्चित गर्न नमिल्ने जिकिर पनि गरेकी छन् ।
भण्डारीले आफू विचलित नहुने पनि बताइन्। ‘म सबै साथीहरूलाई पार्टीका मूल्यहरूलाई आत्मसात् गर्दै पार्टी निर्माणमा सक्रिय हुनका लागि आग्रह गर्दछु,’ उनले भनिन्, ‘पार्टी बनाउन म र मजस्ता हजारौंको हात छ।’