काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको छ । नेपालमा बीवाईडीका ग्राहक बढ्दै जाँदा बिक्रीपछिको सेवा विस्तार गर्ने उद्देश्यले यी दुई परियोजना अघि बढाइएको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स प्रमुख फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टर उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

भक्तपुरमा निर्माण गरिएको नयाँ सर्भिस सेन्टर २५ हजार ७२.६० वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यहाँ सवारीसाधन बिक्री, सर्भिस र स्पेयर पार्ट्ससम्बन्धी सुविधा एउटै स्थानमा उपलब्ध हुनेछन् ।

ADVERTISEMENT

सेन्टरमा आठवटा सर्भिस बे छन् । तीमध्ये पाँचवटा सञ्चालनमा आएका छन् भने बाँकी तीनवटा सवारीसाधनको सर्भिससम्बन्धी आवश्यकता बढ्दै जाँदा सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । यहाँ शोरुमसमेत चाँडै सञ्चालनमा आउनेछ ।

भक्तपुरको मौलिक वास्तुकलामा आधारित डिजाइन

भक्तपुरको सांस्कृतिक तथा वास्तुकलागत पहिचानबाट प्रेरित भएर सर्भिस सेन्टरको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ । बीवाईडीको अन्तर्राष्ट्रिय ब्रान्ड मापदण्डलाई स्थानीय सम्पदासँग जोड्ने उद्देश्यले यसलाई ‘बीवाईडी हेरिटेज शोरुम एन्ड सर्भिस सेन्टर’ अवधारणामा विकास गरिएको हो ।

सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सुविधा एउटै स्थानमा उपलब्ध हुँदा ग्राहकलाई सवारीसाधन खरिददेखि नियमित मर्मतसम्भारसम्म सहज हुने कम्पनीको अपेक्षा छ ।

डल्लुमा पनि सर्भिस सेन्टर निर्माण सुरु

भक्तपुरको सर्भिस सेन्टर उद्घाटनकै दिन काठमाडौंको डल्लुमा नयाँ बीवाईडी सर्भिस सेन्टर निर्माणका लागि शिलान्यास गरिएको छ । यसले काठमाडौं उपत्यकामा सर्भिस क्षमता विस्तार गर्नुका साथै ग्राहकलाई मर्मतसम्भार सेवा थप सहज बनाउने कम्पनीको विश्वास छ ।

शिलान्यास कार्यक्रममा बीवाईडी एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका प्रतिनिधिसहित साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ सहभागी थिए ।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक जनशक्ति, सक्कली स्पेयर पार्ट्स र भरपर्दो मर्मतसम्भार सेवाको आवश्यकता पनि बढ्ने भएकाले कम्पनीले बिक्रीपछिको सेवा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

भक्तपुरमा नयाँ थ्रीएस सेन्टर सञ्चालनमा आउनु र डल्लुमा अर्को सर्भिस सेन्टर निर्माण सुरु हुनुले नेपालमा बीवाईडीको बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने योजनालाई थप अघि बढाएको कम्पनीको भनाइ छ ।