काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी साउनभित्र राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापनइतर पक्षको बैठकपछि नेता मीन विश्वकर्माले बीपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते राष्ट्रिय भेला गर्ने सैद्धान्तिक सहमति भएको जानकारी दिए।
उनका अनुसार मौसमको अवस्था हेरेर भेलाको मिति केही हेरफेर हुन सक्ने भए पनि साउनभित्रै आयोजना गर्ने तयारी गरिएको छ। विश्वकर्माले बैठकमा १९ जना नेताहरूले धारणा राखेको र अधिकांशले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको बताए।
बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे समेत छलफल भएको उनले जानकारी दिए।





