काठमाडौं । नेपाली कांग्रेसले देशका विभिन्न पाँच स्थानमा ठूला चुनावी सभा गर्ने भएको छ ।

कांग्रेसले फागुन ६ गते जनकपुरमा पहिलो चुनावी सभा गरी चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेपछि देशका विभिन्न प्रमुख सहरमा पनि सभा गर्ने तयारी गरेको हो ।

कांग्रेसले काठमाडौं, सुर्खेत, बाँके, रूपन्देही, र पोखरामा चुनावी सभा गर्न लागेको हो । यसअघि काठमाडौं, सुर्खेच र पोखरामा मात्र गर्ने तय थियो ।

कांग्रेसले फागुन १४ गते सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्नेछ । फागुन १५ गते पोखरामा र फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ ।

कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी रहे पनि मिति भने अहिले तय भएको छैन । यसबारे पदाधिकारीबीच छलफल भइरहेको छ ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का अहिलेसम्म चुनावी प्रचारमा हिँडेका छैनन् । उनीहरूसँगको सहमतिमै मिति र स्थान तय गर्ने प्रयास भइरहेको बताइन्छ ।