काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सोमबार काठमाडौँमा मिनी अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि कूल १५५ जना खेलाडीहरूलाई अन्तिम सूचीमा समावेश गरेको छ । अक्सन झम्सिखेलको होटल भिभान्तामा हुँदैछ ।
यसअघि नाम दर्ता गराएका ३४७ जनामध्येबाट १५५ जना खेलाडीहरू अक्सनको ‘सर्टलिस्ट’ मा परेका हुन् । जसमा क्याटेगोरी ‘ए’ मा पाँचजना, क्याटेगोरी ‘बी’ मा २७ जना र क्याटेगोरी ‘सी’ मा १२३ जना खेलाडीहरू छन् ।
क्याटेगोरी ए मा राष्ट्रिय टिमका ओपनिङ ब्याटर तथा विकेटकिपर आसिफ शेख सबैको नजरमा हुनेछन् । उनलाई जनकपुरले रिलिज गरेको थियो । अर्जुन घर्ती, विवेक कुमार यादव, रुपेशकुमार सिंह र तृतराज दास क्याटगोरी ए मा छन् ।
अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ जना खेलाडीहरूलाई खरिद गर्नेछन्। यसपटकको नयाँ नियमअनुसार हरेक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट आउने खेलाडीसहित कुल १४ जना नेपाली खेलाडीहरू रहनेछ ।
अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक रकम छ । जनकपुरसँग ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ । काठमाडौं गोर्खाजसँग खर्च गर्नका लागि मात्र ३४ लाख मात्र रुपैयाँ बाँकी छ ।





