काठमाडौं । काठमाडौं उपत्यकामा विद्युत् आपूर्ति थप भरपर्दो बनाउन निर्माण गरिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। नयाँ सबस्टेसन सञ्चालनसँगै काठमाडौंका स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनमा रहेको विद्युत् भारको केही हिस्सा चोभारमा स्थानान्तरण गरिने भएको छ। यसबाट पुराना सबस्टेसनको भार घट्नुका साथै उपत्यकाको विद्युत् आपूर्ति प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।
कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। यसअनुसार सबस्टेसनको कुल क्षमता ९० एमभिए रहेको छ।
सबस्टेसनमा मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको छ। थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको उक्त खण्डबाट चोभारमा विद्युत् पुर्याइएको हो।
चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ। तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोक क्षेत्रतर्फ र छवटा कीर्तिपुर तथा आसपासका क्षेत्रतर्फ विस्तार गरिएका छन्। फिडरहरू क्रमशः चार्ज गरी स्थानीय क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आइतबार सबस्टेसनको अनुगमन गर्दै फिडरहरू तत्काल चार्ज गरी विद्युत् भार स्थानान्तरणको काम अघि बढाउन निर्देशन दिएका छन्।
उनका अनुसार चोभार सबस्टेसन सञ्चालनमा आएपछि विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सहज हुनेछ। हिउँदयाममा काठमाडौं उपत्यकाको विद्युत् माग बढ्ने भएकाले नयाँ सबस्टेसन र मातातीर्थ–चोभार प्रसारण लाइनले आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चोभार सबस्टेसन सञ्चालनमा आए पनि यसको पूर्ण लाभका लागि पुराना सबस्टेसनबाट विद्युत् भार स्थानान्तरणको काम महत्वपूर्ण हुनेछ। भार स्थानान्तरण भएपछि स्युचाटार, टेकु, पाटन र मातातीर्थ सबस्टेसनमा चाप कम हुनेछ। यसले विशेषगरी विद्युत् माग बढी हुने समयमा आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउनेछ।
किन बनाइयो चोभार सबस्टेसन?
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा जग्गा प्राप्ति तथा अन्य अवरोधका कारण प्रसारण लाइन निर्माण अघि बढाउन कठिनाइ भएको थियो। त्यसपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरिएको हो।
यसैगरी, चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ। यी संरचना सम्पन्न भएपछि उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो। मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।
एसियाली विकास बैंक (एडीबी) को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो।












