काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछन्। चितवन अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने कर्णाली सातौँ स्थानमा छ।
त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ।
आजका दुवै खेलले लिग चरणको अन्तिम अंक तालिकाको समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्। विशेषगरी टोलीहरूको अन्तिम स्थान र प्लेअफको समीकरणमा यी खेलको नतिजाले प्रभाव पार्नेछ।












