काठमाडौं । जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण गर्दै जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरिएको छ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले आइतबार घोषणा जारी गरिएको हो।
घोषणापत्रमा जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथिको जोखिमलाई सामूहिक प्रयासबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
घोषणाले जलवायु परिवर्तनलाई कुनै एक समुदाय, क्षेत्र वा राष्ट्रको मात्र नभई मानव सभ्यताकै साझा चुनौतीका रूपमा व्याख्या गरेको छ। जलवायु परिवर्तनको असर सबैले भोगे पनि त्यसमा योगदान र सामना गर्ने क्षमता समान नभएकाले विकसित राष्ट्रको जिम्मेवारी, विकासशील राष्ट्रको आवश्यकता र जोखिममा रहेका समुदायको अधिकारलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरेको छ।
घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी शिक्षा विद्यालयस्तरदेखि स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता पनि जनाइएको छ। बालबालिका तथा युवालाई जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, हरित सहर र फोहोरमैला व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने उल्लेख छ।
त्यस्तै, जलवायुसम्बन्धी निर्णय प्रक्रिया र समस्या समाधानमा बालबालिका, युवा तथा विभिन्न पुस्ताको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता गरिएको छ।
सहरी विकास तथा पूर्वाधार निर्माणका क्रममा नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब न्यूनीकरण गर्नुपर्नेमा पनि घोषणाले जोड दिएको छ। विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई समेट्ने प्रतिबद्धता गरिएको छ।
काठमाडौं उपत्यकाले बढ्दो सहरी तापक्रम, वायु प्रदूषण, अव्यवस्थित सहरीकरण, बाढी, डुबान र खानेपानीको चुनौती सामना गरिरहेको उल्लेख गर्दै घोषणाले उपत्यकाको भौगोलिक तथा सांस्कृतिक पहिचान संरक्षणमा जोड दिएको छ।
यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना जारी गर्ने, वायु प्रदूषण नियन्त्रण गर्ने, आकाशे पानी संकलन तथा ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने, नदी तथा खोलाको पुनर्जीवन गर्ने र हरित क्षेत्र विस्तार गर्ने प्रतिबद्धता गरिएको छ।
त्यस्तै, हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा विद्युतीय बसजस्ता सार्वजनिक यातायातको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ। विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउँदै काठमाडौंलाई जलवायु उत्थानशील सहरका रूपमा विकास गर्ने लक्ष्य घोषणाले लिएको छ।
जलवायु कार्य ठूला सम्मेलन, नीति र दस्तावेजमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै घोषणाले सहरी नीति, योजना, बजेट तथा कार्यक्रमलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिएको छ। स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई नागरिकको दैनिक अभ्यास बनाउने प्रतिबद्धता गरिएको छ।
घोषणापत्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहको आवश्यकता र आवाजलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिने उल्लेख गरेको छ।
स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना, दिगो खाद्य प्रणाली, वैज्ञानिक अनुसन्धान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
काठमाडौं जलवायु घोषणाले प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम कार्यान्वयन गर्ने संकल्प गरेको छ।
यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिने उल्लेख छ। जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता पनि गरिएको छ।












