सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशको महिला टोलीले पहिलो पदक जित्दै प्रदेशको पदक खाता खोलेको छ।
आइतबार सम्पन्न महिला बास्केटबलको थ्री बाइ थ्री (३×३) विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको हो।
फाइनल खेलमा कर्णालीले ९ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्यो। नेपाल आर्मीले १३ अंकसहित स्वर्ण पदक जित्दा एपीएफ क्लबले कास्य पदक प्राप्त गर्यो।
शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको आयोजक कर्णालीका लागि महिला टोलीको यो सफलता महत्वपूर्ण बनेको छ। आफ्नै भूमिमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदमा महिलाले नै प्रदेशको पहिलो पदक दिलाएका हुन्।
यसैगरी महिला बास्केटबलको फुल कोर्ट (५×५) विधामा एपीएफ क्लबले स्वर्ण पदक जितेको छ। फाइनलमा एपीएफले ५७ अंक जोड्दा त्रिभुवन आर्मी क्लबले २९ अंकसहित रजत पदक जित्यो। नेपाल प्रहरीले कास्य पदक प्राप्त गरेको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिए।
महिला टोलीले पहिलो पदक जितेसँगै कर्णालीले प्रतियोगितामा थप पदकको आशा जगाएको छ।












