काठमाडौँ– गायक, सर्जक तथा अभिनेता प्रकाश सपूत झन्डै एक वर्षपछि नयाँ गीत ‘कर्तव्य’ (मेरो पनि होइन र यो देश–२) लिएर स्रोता तथा दर्शकमाझ फर्किएका छन्। आइतबार सार्वजनिक गरिएको गीतमार्फत उनले देशको विकास र समृद्धिका लागि सरकारसँगै प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने सन्देश दिएका छन्।
‘कर्तव्य’ पाँच वर्षअघि सार्वजनिक भएको चर्चित गीत ‘मेरो पनि होइन र यो देश’ को दोस्रो श्रृंखला हो। पहिलो भागमा सरकार र राजनीतिक नेतृत्वमाथि प्रश्न उठाएका सपूतले यसपटक भने देशलाई समृद्ध र व्यवस्थित बनाउन नागरिकको भूमिकालाई केन्द्रमा राखेका छन्। उनका अनुसार यो गीतले ‘यो देश हाम्रो हो र यसलाई अझ राम्रो बनाउने जिम्मेवारी हामी सबैको साझा कर्तव्य हो’ भन्ने भाव व्यक्त गर्दछ।
गीतमा गाउँ–गाउँमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार, क्षेत्रीय असमानताको अन्त्य, सुशासन, रोजगारी सिर्जना, बढ्दो बसाइँसराइ तथा वैदेशिक पलायनजस्ता समसामयिक विषयलाई उठाइएको छ। ‘केही गरौँ, केही गरौँ, जे सकिन्छ त्यही गरौँ, देशको उन्नतिको लागि, भावी सन्ततिको लागि’ भन्ने मूल भावमार्फत गीतले देश निर्माणमा सबैको साझा उत्तरदायित्व रहेको सन्देश दिएको छ।
गीतको शब्द, संगीत, स्वर, अवधारणा तथा निर्देशन स्वयं प्रकाश सपूतकै रहेको छ। संगीत संयोजन, ब्याकग्राउन्ड स्कोर र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन्। गलबन्दी प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको गीतको प्रोजेक्ट हेड दिल शिरीष रहेका छन्।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको म्युजिक भिडिओमा प्रकाश सपूत स्वयं फिचर्ड छन्। भिडिओको छायांकन हरि हुमागाईं र सुनिल बिकले गरेका हुन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्।
प्रकाश सपूतले यसअघि ११ महिनाअघि ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक गरेका थिए। त्यसपछि लामो अन्तरालमा उनले सामाजिक चेतनाको सन्देश बोकेको नयाँ गीत ‘कर्तव्य’ सार्वजनिक गरेका हुन्।










