काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा नगरी आगामी राजनीतिक यात्रा तय गर्न नसकिने बताएका छन्। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीले आफ्ना कमजोरीको विश्लेषण गर्दै नयाँ चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले विगतका अनुभवका आधारमा आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको सही समीक्षा र विश्लेषण नगरी अगाडिको बाटो पहिल्याउन कठिन हुने बताए। नयाँ सन्दर्भअनुसार चुनौतीको सामना गर्ने मान्यताका साथ पार्टी अघि बढिरहेको उनको भनाइ थियो।
पोखरेलले २०८२ साल भदौ २३ र २४ गतेका घटनाले एमालेको राजनीतिक जीवनमा ठूलो धक्का पुगेको पनि स्वीकार गरे। पार्टीकै नेतृत्वमा सरकार रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको उनले बताए।
उनका अनुसार ती घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण छ। यही विश्लेषणका आधारमा भूराजनीतिक चुनौती सामना गर्न योजना बनाएर अघि बढ्ने प्रयास गरिएको उनले उल्लेख गरे।
‘२०८२ को भदौ २३ र २४ गतेको घटनापछि हाम्रो पार्टीको जीवनमा सर्वाधिक ठूलो धक्का लाग्यो। हाम्रै पार्टीको नेतृत्व रहेको समयमा मुलुकमा जुन प्रकारको घटना घट्यो, त्यसले स्वाभाविक रूपमा हाम्रो पार्टीको भविष्यमाथि गम्भीर प्रश्न खडा गर्यो,’ पोखरेलले भने। उनले पार्टीले विगतका घटनाबाट पाठ सिक्दै वर्तमान राजनीतिक चुनौती र बदलिँदो परिस्थितिअनुसार आफ्नो रणनीति परिमार्जन गर्नुपर्ने संकेत गरेका छन्।










