काठमाडौं । ९९ औँ एकेडेमी अवार्ड्स (ओस्कार)को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोट प्रक्रिया सुरु भएको छ।

नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समितिले सूचना जारी गर्दै तोकिएका मापदण्ड पूरा गर्ने नेपाली फिल्मका निर्माताबाट भदौ २२ गतेसम्म आवेदन आह्वान गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले जारी गरेको सूचनामा निर्धारित समयभित्र काठमाडौंस्थित समितिको सचिवालयमा फिल्म दर्ता गराउन आग्रह गरिएको छ।

ओस्कारको प्रतिस्पर्धामा सहभागी हुन फिल्मले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण प्राप्त गरेको हुनुपर्नेछ। साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ सम्म नेपालका स्थानीय सिनेमा घरमा प्रदर्शन भएको हुनुपर्नेछ।

ADVERTISEMENT

फिल्म व्यावसायिक सिनेमा घरमा लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्नेछ। अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यावसायिक सिनेमा घरमा टिकट बिक्रीसहित लगातार सात दिन प्रदर्शन भएका फिल्मलाई पनि योग्य मानिने समितिले जनाएको छ।

ADVERTISEMENT

उक्त मापदण्ड पूरा नगरेका फिल्मले ओस्कारले तोकेका आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये कुनैमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ। तर टेलिभिजन, भीओडी, डीभीडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलोपटक रिलिज भएका फिल्म छनोटका लागि योग्य हुने छैनन्।

ADVERTISEMENT

त्यस्तै, फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ। फिल्ममा नेपाली परिवेश तथा तत्व झल्किएको हुनुपर्ने र ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्ने मापदण्ड तोकिएको छ। अंग्रेजी सब–टाइटल पनि अनिवार्य गरिएको छ।

छनोट हुने फिल्मले ओस्कारको प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ। फिल्म ३५ एमएम वा ७० एमएममा, अथवा न्यूनतम २०४८ × १०८० पिक्सेल रिजोलुसनसहित २४ वा ४८ फ्रेमको डीसीपी फर्म्याटमा उपलब्ध हुनुपर्नेछ। अडियो भने ५.१ वा ७.१ च्यानलमा हुनुपर्नेछ।

इच्छुक निर्माताले अनलाइन आवेदन फारम भरी आवश्यक सामग्रीसहित काठमाडौंस्थित समितिको सचिवालयमा आवेदन दिन सक्नेछन्। थप नियम तथा प्राविधिक मापदण्ड ओस्कारको आधिकारिक वेबसाइटबाट समेत हेर्न सकिने समितिले जनाएको छ।