काठमाडौं । निर्देशक दिनेश राउतको लभस्टोरी चलचित्र ‘कुमारी’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुर्हूत गरिएको छ । सो अवसरमा चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो।

मंगलबारबाट सुरु भएको छायांकन ३५ दिनमा सकिने लक्ष्य राखिएको छ। अविशेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। गायक केहरसिंह लिम्बू पार्श्व गायनमा यही चलचित्रबाट डेब्यु गरेका छन्।

‘कुमारी’ मा संगीत केहरसिंह लिम्बू, सुमन तामाङ र प्रशान्त सिवाकोटीको छ । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, र ‘क्लासिक’जस्ता प्रेमकथामा आधारित चलचित्र निर्देशन गरेका थिए । यस्तै, सामाजिक विषयमा केन्द्रित ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता चलचित्र पनि निर्देशन गरेका थिए।