काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।बैंकले पहिलोपटक कारोबार सुरु गरेको १९औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार (कात्तिक १८ गते) आफ्नै केन्द्रीय कार्यालय रहेको भवनबाट बालुवाटार शाखा सञ्चालनमा ल्याएको हो।

बैंकका अध्यक्ष दिलिप प्रताप खाँणको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखाको उद्घाटन गरेका हुन्।

ADVERTISEMENT

नयाँ शाखाबाट नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर तथा विदेशी मुद्रा सटहीलगायतका सेवा उपलब्ध हुने बैंकले जनाएको छ।बैंकिङ सेवामा सर्वसाधारणको पहुँच विस्तार, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकको भनाइ छ।

ADVERTISEMENT

बैंकले शाखा विस्तारलाई भौगोलिक उपस्थितिमा वृद्धि गर्ने माध्यमका रूपमा मात्र नभई स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन र उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने माध्यमका रूपमा लिएको जनाएको छ।

बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकलाई आवश्यकताअनुसार वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ। ISO 9001:2015 र ISO 27001:2022 प्रमाणपत्र प्राप्त बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।