काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चलचित्र निर्देशक निश्चल बस्नेतदेखि चर्चित कन्टेन्ट क्रियटरसम्मका व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघनका घटना छानबिन गर्न आयोगले यसअघि एक समिति गठन गरेको थियो । आयोगकी सदस्य लिली थापा संयोजकत्वको उक्त समितिले उनीहरूमाथि अनुसन्धान गर्न सिफारिस गरेको हो ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, भिक्टर पौडेल, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रविकिरण हमालमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।
चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न सिफारिस गरिएको छ । उनीहरूले प्रदर्शन भड्काउन बल पुर्याएको देखिएको आयोगले जनाएको छ ।
यस्तै, रक्षा बम, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, असिममान बस्नेत, पशुपति खड्का, दुर्गा प्रसाई, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर बिद्रोही, वुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानीराज्यलक्ष्मी सिंह, निशान मैनालीलगायतलाई अनुसन्धान गर्न भनेको छ ।










