काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व रणनीतिक लक्ष्यबाट विचलित हुँदै पद, पैसा र सत्तामुखी राजनीतिमा केन्द्रित भएको स्वीकार गरेका छन्।

पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया र संविधान निर्माण ऐतिहासिक उपलब्धि भए पनि त्यसपछि पार्टीले रणनीतिक सोच गुमाएर तत्कालीन कार्यनीतिलाई नै रणनीति बनाएको बताए।

ADVERTISEMENT

उनले भने, ‘शान्ति सम्झौता र संविधान निर्माण गरेर गल्ती भएन। तर, हामीले रणनीति छोड्यौँ, कार्यनीतिलाई नै रणनीति मान्न थाल्यौँ। चुनाव जित्ने, सरकारमा जाने, मन्त्री हुने र प्रधानमन्त्री हुने कुरामै सीमित भयौँ।’

प्रचण्डले संविधान जारी भएपछि पार्टी नेतृत्व तात्कालिक स्वार्थमा केन्द्रित भएको उल्लेख गर्दै जनताको अधिकारका लागि संघर्ष गर्ने पार्टी पछि पद, सुविधा र पैसाका लागि प्रतिस्पर्धा गर्न थालेको बताए।

ADVERTISEMENT

उनले नेतृत्वकै कमजोरीका कारण कार्यकर्तामा पनि त्यही प्रवृत्ति फैलिएको स्वीकार गर्दै पटक–पटक सरकार गठनका लागि कांग्रेस, एमाले तथा अन्य दलसँगको सहकार्यले पार्टीको वैचारिक आधार कमजोर बनेको बताए।

उनले पार्टीभित्र समाजवादी मूल्य, आदर्श र संस्कार कमजोर बन्दै व्यक्तिवाद, स्वार्थ र अवसरवाद हाबी भएको स्वीकार गर्दै व्यवहारमा समाजवादभन्दा व्यक्तिगत स्वार्थ हाबी भएको बताए।

प्रचण्डले जनताले कम्युनिष्ट पार्टीबाट ठूलो परिवर्तनको अपेक्षा गरे पनि पछिल्लो समय कांग्रेस र एमालेभन्दा पनि पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार भएको छवि बनेको टिप्पणी गरे।