काठमाडौँ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी मनोनयन गरी निर्वाचन चिह्न प्राप्त गरेका राजनीतिक दलहरूले निर्वाचन घोषणापत्र जारी गरी प्रचारप्रसार अघि बढाएका छन् ।

ADVERTISEMENT

कुल १२० राजनीतिक दलले निर्वाचनमा भाग लिने आवेदन दिएकामा प्रत्यक्षतर्फ ६५ राजनीतिक दलले ६१ राजनीतिक चिह्न तथा समानुपातिकतर्फ ६३ राजनीतिक दलले ५७ राजनीतिक चिह्नमा प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचन घोषणापश्चात कतिपय राजनीतिक दलमा विभाजन आएको छ भने कतिपय दल एकापसमा एकीकृत भएर मैदानमा देखिएका छन् । कतिपय दलले चुनावी गठबन्धन गरी संयुक्त निर्वाचन चिह्नबाट प्रचार गरेका छन् ।

ADVERTISEMENT

संसदीय राजनीतिमा अनुभवी पूर्वमन्त्री अशोककुमार राईको संयोजकत्वमा नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीले साझा÷एकल जाँतो चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका छन् । तीनवटा पार्टीको तर्फबाट प्रत्यक्षतर्फ एक सय हाराहारीमा उम्मेदवारी दर्ता भएको राईले जानकारी दिए ।

जसपाका अध्यक्ष राईका अनुसार मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, अखडण्ता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्ने विषयलाई घोषणापत्रमा पहिलो प्राथमिकतामा राखिएको छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरण गर्ने, पहिचान र सामथ्र्यका आधारमा वर्तनमा संघीय संरचनालाई वैज्ञानिक ढंगले पुनःसंरचना गर्ने, संविधानमा भएको संरक्षित क्षेत्र र विशेष क्षेत्रलाई ऐन बनाएर लागू गर्ने तथा स्थानीय तहलाई गैरदलीय बनाइ सामुदायिक विकास इकाइका रूपमा स्थापित गर्ने विषयलाई घोषणापत्रमा राखिएको छ”, उनले भने ।

नयाँ पुस्ताको मागअनुसार मुलुकको अग्रगामी निकासका लागि राजनीतिक, आर्थिक, सामाजिक एवं प्रशासनिक सुधार गर्ने, राज्यको सामाजिक दायित्व राज्य, निजी क्षेत्र र समुदायमा आधारित सामाजिक सुधार अर्थतन्त्रको नीति अवलम्बन गर्ने, स्वदेशी तथा विदेशी पुँजी र प्रविधि परिचालनका लागि लगानीमैत्री वातावरण निर्माण गर्ने, जलसम्पदाको सदुपयोगका लागि बहुउद्देश्यीय जनसहभागितामूलक र एकीकृत विकासको नीति लागू गर्ने, वैदेशक रोजगारमा भएका नागरिकको कमाइलाई जलविद्युत् र उद्यमशील क्षेत्रमा परिचालन गर्ने नीति घोषणापत्रमा उल्लेख छ ।

जनादेश पार्टी नेपालका सहमहामन्त्री जस्मिन ओझाका अनुसार अहिले जनादेश पार्टी र आम जनता पार्टीबीच संयुक्त चिह्न (मोबाइल) मा चुनावी सहकार्य भएको र ८० भन्दाबढी निर्वाचन क्षेत्रमा उम्मेदवारी छ । भर्खर स्थापना भएका कारण धेरै क्षेत्रमा उम्मेदवारी दिन नसकिएको उनले बताए । जनादेश पार्टीले अहिले देशव्यापी रूपमा सङ्गठन विस्तारको अभियान अघि बढाइरहेको उनको भनाइ छ ।

जनादेश पार्टीले १३ बुँदे प्रतिबद्धतासमेत जारी गरेको छ । राजनीतिक पविर्तनका लागि बलिदानी दिएका सहिद तथा घाइते परिवारलाई विशेष कोष खडा गरेर सहयोग गर्ने र जलवायु परिवर्तनको विषयमा नेपालले आर्थिक नीतिका लागि विशेष बजेट विनियोजन गर्ने योजना छ ।

नेकपा (संयुक्त)ले समानुपातिकतर्फ १०९ जना तथा प्रत्यक्षतर्फ ३५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । एकीकृत समाजवादीका नेता घनश्याम भुसालको समूह नेकपा संयुक्तमा समाहित भएको छ । पार्टीको निर्वाचन चिह्न हसियाँ रहेको छ । मुख्यगरी तीनवटा राजनीतिक दलले जनताको पक्षमा काम गर्न नसकेकाले आफूहरूको उपस्थिति भएको महासचिव केदारचन्द्र शर्माले जानकारी दिए ।