चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन शुक्रबार छैटौँ दिन पनि जारी रहेको छ। तीन दिनमै सम्पन्न गर्ने लक्ष्यसहित असार ७ गते सुरु भएको महाधिवेशन प्रतिनिधि चयन विवाद र निर्वाचन प्रक्रिया लम्बिएपछि अझै टुंगिन सकेको छैन।
आज पदाधिकारीहरूको निर्वाचन सम्पन्न गरी महाधिवेशन समापन गर्ने तयारी गरिएको छ। यसअघि सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम पनि सार्वजनिक भइसकेको छ। तर पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम नामावली अझै सार्वजनिक हुन बाँकी छ।
महाधिवेशन लम्बिँदै जाँदा खर्च व्यवस्थापनमा समस्या देखिएको छ। त्यसैले व्यवस्थापन पक्षले शुक्रबार प्रतिनिधिहरूका लागि खाना उपलब्ध नगराउने निर्णय गरेको छ। बिहीबार राति नै बिहानको चिया मात्रै उपलब्ध गराइने जानकारी प्रतिनिधिहरूलाई गराइएको थियो।
रास्वपाको विधानअनुसार सभापति र केन्द्रीय सदस्य चयनपछि मात्रै पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ। पार्टीले आज पदाधिकारी चयनको प्रक्रिया पूरा गर्दै महाधिवेशन समापन गर्ने लक्ष्य राखेको जनाएको छ।






