काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दसैँ बिदाको अधिकांश समय गृहजिल्ला चितवनका नागरिकका समस्या र गुनासा सुन्न बिताएकी छन् ।
चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित गौतमले माडी र भरतपुरका विभिन्न बस्तीमा पुगेर किसान, स्थानीयवासी तथा मतदातासँग प्रत्यक्ष संवाद गरेकी हुन् । उनले स्थानीयका समस्या, विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरेकी छन् ।
माडीमा धान काटिरहेका किसानलाई खेतमै भेटेर मन्त्री गौतमले कृषि उत्पादन, मल–बिउको उपलब्धता, बजार मूल्य तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिइन् । उनले हुलाकी सडक र स्थानीय पूर्वाधार निर्माणका विषयमा समेत चासो व्यक्त गरिन् ।
त्यस्तै, भरतपुरका नदी तटीय क्षेत्रको निरीक्षण गर्दै उनले नारायणी नदीको कटान, अधुरा तटबन्ध र बस्ती सुरक्षासम्बन्धी स्थानीयका गुनासा सुनिन् ।
भरतपुर महानगरपालिकाका वडा नम्बर ३, १६, १७, २६, २७ र २८ का बासिन्दासँग छलफल गर्दै गौतमले बाँकी तटबन्ध निर्माण सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता जनाइन् । नदी कटानबाट बस्तीमा पर्न सक्ने जोखिम र स्थानीय पूर्वाधारका समस्याबारे समेत उनले जानकारी लिएकी थिइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति इन्जिनियर मिनीमाधव खनालका अनुसार मन्त्री गौतमले नागरिकले आफ्ना समस्या सुनाउन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँमै पुगेर भेटघाट गरेकी हुन् ।
दसैँका अवसरमा स्थानीयसँग शुभकामना आदानप्रदान गर्नुका साथै उनले विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरेकी थिइन् । यस क्रममा गौतमले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समेत आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग भेट गराएकी छन् ।









