चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न हुन नसकी लम्बिएपछि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनबाट काठमाडौं फर्किएका छन्।
रास्वपा प्रवक्ता मनीष झाले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह उद्घाटन समारोहमा गरेको प्रतिबद्धताअनुसार तीन दिन महाधिवेशनमा सहभागी भएर फर्किएको जानकारी दिए।
‘उहाँलाई देशको चिन्ता लाग्यो अनि जानुभयो। उद्घाटनका बेला तीन दिन बस्ने भन्नुभएको थियो, सोही प्रतिबद्धताअनुसार बस्नुभयो र फर्किनुभयो,’ झाले भने।
उनका अनुसार पार्टीले अपेक्षा गरेभन्दा प्रधानमन्त्री शाहले महाधिवेशनमा बढी समय दिएका थिए। उद्घाटन समारोहमा प्रधानमन्त्री सहभागी हुने वा नहुने भन्ने अन्योल रहेकाले उनको उपस्थितिलाई सकारात्मक रूपमा लिइएको पनि उनले बताए।
प्रधानमन्त्री लामो समयसम्म पार्टी गतिविधिमा केन्द्रित हुँदा विभिन्न टिप्पणी हुन सक्ने भएकाले अब देशका काममा ध्यान दिनुपर्ने आवश्यकता रहेको झाको भनाइ छ।
रास्वपाका अनुसार प्रधानमन्त्री शाहले पार्टीलाई पर्याप्त समय दिएपछि अब सरकारी जिम्मेवारीमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका थिए।
नेतृत्व चयनलगायतका बाँकी प्रक्रिया पूरा गर्न रास्वपाको महाधिवेशन भने अझै जारी रहेको छ। पार्टीले बिहीबारसम्म सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ।






